राजावादी आन्दोलनमा मृत्यु भएका पत्रकार रजकको परिवारलाई भाटभटेनीले पाँच लाख सहयोग गर्ने
महर्जनको परिवारलाई तीन लाख

समाज रुपान्तरण चैत्र २० गते बुधबार काठमाडौं : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले राजावादी आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।
बुधबार आयोजित एक कार्यक्रममार्फत गुरूङले एभिन्युजका पत्रकार सुरेश रजकको परिवारलाई राहतस्वरूप पाँच लाख तथा कीर्तिपुरका सविन महर्जनको परिवारलाई तीन लाख सहयोग गर्ने बताएका हुन्।

चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूले एक व्यापारी भवनमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको गोली लागेर निधन भएको थियो।
गुरूङले आन्दोलनका क्रममा निजी घर तथा व्यवसायमा तोडफोड र आगजनी गर्ने कार्य निन्दनीय भएको बताए। साथै, उनले समाजमा अराजक गतिविधि गरिरहेका दुर्गा प्रसाईंलाई समयमा नै नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले “लुटेराहरूले ल्याएको परिवर्तन आफूहरूलाई स्वीकार्य छैन” भन्ने धारणा राखे।

भाटभटेनीका सुरक्षागार्डलाई सम्मान
सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुट्न आएका व्यक्तिहरूविरुद्ध प्रतिकार गर्ने सुरक्षागार्डलाई पनि सम्मान गरिएको छ। सुपरमार्केटले सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई पाँच लाख एक हजार ११ नगदसहित पुरस्कृत गरेको छ।
पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले उनको पाँच ग्रेड बढुवा गरेको छ। साथै, अन्य सुरक्षागार्डहरूको पनि ग्रेड बढुवा गर्दै नगदसहित सम्मान गरिएको छ।
भाटभटेनी लुट्न आएकाहरूमाथि पराजुलीले गरेको प्रतिकारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भाटभटेनीले लुटपाट तथा तोडफोडका कारण ७० देखि ८० लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।



















Discussion about this post