कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय भौसाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाले १८औँ गाउँसभाबाट पारित बजेट सार्वजनिक गरेको छ।
उपाध्यक्ष भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकताका क्षेत्रको विवरण सार्वजनिक गर्नुभएको थियो। सार्वजनिक बजेट अनुसार पूर्वाधार विकासमा मात्र १४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बहुवर्षीय योजनाअन्तर्गत वडा नं. १ देखि ७ सम्मका सडकहरु कालोपत्रे गर्ने योजनासहित ५ करोड रुपैयाँ छुट्याइएको छ। साथै पुतली चौक–गाडाटोल, धावीटोल–मैनावारी, मिलनचौक–मंगलबारे, प्रणामीडाँडा–गैरीगाउँ, ठूलो गाउँ–क्याम्पस डाँडा, दही दोमान–दहीखोला, सुकुना कल्भर्ट–पूर्व सडक, र आइतबारे मन्दिर–४० बिघे जहदा सडकलाई कालोपत्रे गरिने बताइएको छ।
अन्य योजनाहरूमा सुरक्षित नागरिक आवासका लागि ५० लाख, जनता आवासका लागि २० लाख, खुला व्यायामशाला, उज्यालो कानेपोखरी, कबर्ड हल निर्माण तथा सडक हरियाली योजनाका लागि जनही ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रशासनिक सञ्चालन खर्चतर्फ ७ करोड ६१ लाख ८० हजार छुट्याइएको छ भने सामाजिक सेवाका विविध शाखाहरूमा समेत उल्लेखनीय रकम विनियोजन गरिएको छ।
शिक्षामा २ करोड १४ लाख ४९ हजार, स्वास्थ्य शाखामा ८६ लाख, कानेपोखरी अस्पतालमा ७९ लाख, खेलकुद क्षेत्रमा ३० लाख, कृषि र पशुपन्छी क्षेत्रमा क्रमशः ४९ लाख ६० हजार र ३९ लाख, सहकारीमा ३५ लाख, महिला, जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता विकासमा ३० लाख ७५ हजार, रेमीमा ११ लाख, संस्कृति प्रवर्द्धनमा ५ लाख, विपद् व्यवस्थापन र वातावरणमा ९५ लाख तथा सार्वजनिक सेवा तथा क्षमता विकासमा १ करोड २१ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभाले पालिकाका सातै वडालाई ३० लाखका दरले सिलिङ बजेट विनियोजन गरेको छ। यसै वर्ष १०४ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ भने कूल अनुमानित सिलिङ बजेट ६७ करोड २९ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर गाउँपालिका अध्यक्ष राजमति इङ्नाम,उपाध्यक्ष: भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय, अधिकृत हिराकुमारी यादव र सम्बन्धित वडाध्यक्षहरुले संयुक्त रूपमा दिनुभएको थियो।


















Discussion about this post