विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी भएका छन् । ४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राई रास्वपा कोशीको पहिलो अधिवेशनबाट सभापतिमा राई निर्वाचित भएका हुन् ।
उनी यसअघि प्रदेशका कोषाध्यक्ष थिए । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार राईले २८० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरीन) १४१ मतमा रोकिइन् ।
सभापतिमा पराजित भएकी तामाङले मतदाताहरूलाई धन्यवाद दिँदै आजैबाट राजनीतिको बिट मारेको घोषणा गरेकी छन् । अन्य प्रतिस्पर्धी डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे ।
सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेकोमध्ये ४८९ मत सदर भएको थियो ।
नवनिर्वाचित सभापति राईको पुर्ख्यौली घर भोजपुरको दावा हो । उनका बुबा २०२० सालमा मोरङको होक्लाबारी झरेका हुन् ।
सानै उमेरदेखि चतुर चन्द्र होक्लाबारीको श्री माध्यमिक विद्यालयबाट ५४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे । घरको आर्थिक अवस्थाका कारण थप पढ्न नपाएको उनी सुनाउँछन् ।
एसएलसीपछि उनले मोरङको बाहुनीमा जुत्ता चप्पल पसलको व्यवसाय गरे । व्यवसाय राम्रो चलेपछि उनले इटहरीमा सारे । अहिले पनि उनको इटहरीमा जुत्ता चप्पल व्यवसाय छ ।
पार्टी स्थापना गरेसँगै उनी रास्वपाको राजनीतिमा सक्रिय भए ।















Discussion about this post