बिर्तामोडको स्वरोजगार भवानी सहकारीमा एकपछि अर्को घोटाला, बचतकर्ताको रकम जोखिममा
अभिषेक बान्तवा | बैशाख ५, २०८२
बिर्तामोड — स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अनियमितता र ठगीका घटना एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन्। पूर्वकर्मचारीहरूको धितोस्वरूप राखिएको सम्पत्ति हडप्ने प्रयाससँगै यस्ता गतिविधिहरू सार्वजनिक भइरहेका छन्।
संस्थामा काम गरिसकेका कर्मचारीहरूमाथि रकम अपचलनको आरोप लगाएर, उनीहरूले धितो राखेका घरजग्गा संस्थाको नाममा पास गरिएको पाइएको छ। अशिष दङ्गाल, अशेष थापा मगर, र प्रदीप ढकालजस्ता कर्मचारीहरूले यस्तो आरोपको मार खेप्नुपरेको हो। कागजपत्र किर्ते गरेर धितो कब्जा गर्ने घटनाले संस्था विवादमा तानिँदै गएको छ।
दङ्गालमाथि संस्थाले ८० हजार तिर्नुपर्ने अवस्थामा १६ लाख ५० हजार अपचलन गरेको भन्दै दबाब दिएको थियो। विषय प्रहरीसम्म पुगेपछि पारिवारिक दबाबमा परेर उनले सो रकमको तमसुक च्यातेका थिए। अर्का कर्मचारी ढकालले इलामस्थित बाबुको नाममा रहेको १५ रोपनी जग्गा धितो राखी काम थालेका थिए। तर वैदेशिक रोजगारीका लागि दुबई गएका उनलाई ८ लाख ७९ हजार अपचलनको आरोप लागेपछि संस्थाले जग्गा फिर्ता नगरेको हो। पछि सञ्चारमाध्यममा खबर आएपछि उनलाई सफाइ दिइएको थियो।
संस्थाले आफ्नै १७ औं साधारणसभामा दुईवटा फरक प्रतिवेदन सार्वजनिक गरेको थियो—जसमध्ये एउटामा ढकालमाथि तिर्नुपर्ने उल्लेख छ भने अर्कामा लेखाप्रमुख चक्रबहादुर खत्रीसँग हिसाब मिलान गर्नुपर्ने बताइएको छ।
यस्तै, अशेष थापा मगरको घटनाले झनै प्रश्न उठाएको छ। उनकी आमा कमला थापा मगर संस्थाको उपाध्यक्ष रहँदा, अशेषले सहकारीमा काम गर्थे। उनीमाथि ६७ लाख ८० हजारको अपचलनको आरोप लागेपछि दुईवटा तमसुकमार्फत रकम असुली गरिएको थियो। थापामगरले छोरा दोषी हुन सक्ने भन्दै १८.१० धुर जग्गा संस्थामा पास गरिन् र बाँकी रकम किस्तामा तिर्न थालिन्। तर, अन्य कर्मचारीबाट पनि कीर्ते तमसुक गराएर रकम असुली हुने थाहा पाएपछि उनले किस्ता तिर्न छाडेको बताएकी छन्।
संस्थाले गत पुषमा साधारणसभा सम्पन्न गरे तापनि, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले रोक लगाएको पत्र आएको अवस्थामा सभा गरिएको थियो। त्यसबाट निर्वाचित पदाधिकारीहरू हालसम्म वैधानिक मानिएका छैनन्। कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले छानबिनपछि मात्र वैधानिकता आउने जानकारी दिएका छन्।
यति मात्र होइन, संस्थाले ‘सस्पेन्स एकाउन्ट’मार्फत रकम लुकाउने गरेको पनि खुलासा भएको छ। एक कर्मचारीका अनुसार, नियमित हिसाबभन्दा बढी देखिएको रकम सो खातामा राखिन्छ, जुन कुनै प्रतिवेदनमा उल्लेख गरिएको छैन। लाखौंको रकम यसरी बेपत्ता हुने गरेको आशंका गरिएको छ।
लगातारका यस्ता घटनाले हजारौं बचतकर्ताको निक्षेप जोखिममा परेको प्रष्ट देखिएको छ।



















Discussion about this post